जनकपुरधाम, ११ भदौ । नेपाली क्रिकेट खेलाडी हरिशंकर साहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा व्यक्तिगततर्फबाट २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि साहले आफ्नो व्यक्तिगत कमाइबाट उक्त रकम सहयोग गरेका हुन् ।

विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा दायित्व भएको उनले बताएका छन् ।

जनकपुरधाम निवासी साहले सहयोगको विषयमा सामाजिक सञ्जालमार्फत भावुक सन्देश दिँदै भनेका छन्, ‘हामीसँग सुत्नलाई घर छ, खाने कुरा छ, पानी छ र परिवार छ । तर, आज धेरै जना मानिससँग यी आधारभूत कुरासमेत छैनन् ।’

उनले अहिलेको कठिन परिस्थितिमा आफ्नो व्यक्तिगत खर्च केही समय घटाएर भए पनि विपद्मा परेकालाई सहयोग गर्न आग्रह गरेका छन् ।

‘अगामी एक महिनाको खर्च कम गरौँला, केही बचत गरौँला र अझै पैसा कमाउन मेहनत गरौँला । तर, आज सहयोग गरौँ,’ साहको भनाइ छ ।

विपद् कसैलाई पनि जुनसुकै बेला आइपर्न सक्ने उल्लेख गर्दै उनले आफूहरू पनि यस्तै परिस्थितिमा पर्न सक्ने भएकाले पीडितको दुःखलाई आफ्नो दुःख सम्झेर सहयोग गर्नुपर्ने बताएका छन् ।

‘हामी पनि यस्तो अवस्थामा हुन सक्थ्यौँ, अथवा हुन सक्छौँ । त्यसैले सक्दो सहयोग गरौँ । हामी एकै परिवार हौँ,’ साहले भनेका छन् ।