जनकपुरधाम, ११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि मधेश प्रदेशका विभिन्न जिल्लाका ४१ जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा पर्साका १६ जना सम्पर्कविहीन छन् । त्यस्तै, महोत्तरीका ११ जना, सर्लाहीका ६ जना, बाराका ३ जना, रौतहटका २ जना र सप्तरीका ३ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ ।

बाढीका कारण रसुवाको प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सम्पर्कविहीन भएका व्यक्तिहरूको अवस्था पत्ता लगाउन सम्बन्धित निकायले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ ।

मधेशका विभिन्न जिल्लाबाट रोजगारी तथा व्यवसायका सिलसिलामा रसुवा पुगेका व्यक्तिहरू बाढीपछि परिवारसँग सम्पर्कमा आउन नसकेको बताइएको छ । सम्पर्कविहीन व्यक्तिका परिवारजन चिन्तित बनेका छन् ।

प्रहरीले प्रभावित क्षेत्रमा रहेका तथा सम्पर्कविहीन व्यक्तिबारे थप विवरण संकलन भइरहेको जनाएको छ ।