-श्याम कुमार ठाकुर
सिरहा, १० भदौ ।
मिटरब्याजसम्बन्धी सांसद तपेश्वर यादवको अभिव्यक्तिको विरोधमा सिरहाको मिर्चैयामा मिटरब्याज पीडितहरूले प्रदर्शन गर्दै उनको पुत्ला दहन गरेका छन् ।

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल सिरहाको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले सांसद यादवले प्रतिनिधिसभामा मिटरब्याजसम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

प्रदर्शनकारीका अनुसार सांसद यादवले संसदमा मिटरब्याजबाट पीडितमध्ये अधिकांश साहु रहेको र थोरै मात्र ऋणी पीडित रहेको आशयको अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिले मिटरब्याज पीडितहरूको समस्या र पीडालाई गलत ढंगले प्रस्तुत गरेको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

प्रदर्शनका क्रममा सहभागीहरूले सांसद यादवविरुद्ध नाराबाजी गर्दै उनको पुत्लासमेत जलाएका थिए ।

उनीहरूले मिटरब्याज पीडितको पक्षमा स्पष्ट धारणा सार्वजनिक गर्न तथा विवादित अभिव्यक्ति फिर्ता लिन सांसद यादवसँग माग गरेका छन् ।

त्यस्तै, प्रदर्शनकारीहरूले मिटरब्याजका कारण पीडित बनेका किसान तथा मजदुरलाई न्याय दिलाउन, पीडितको समस्या दीर्घकालीन रूपमा समाधान गर्न र दोषीमाथि प्रभावकारी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

मिटरब्याजको समस्या समाधानका लागि सरकारले कानुन तथा विभिन्न संयन्त्रमार्फत पहल गर्दै आए पनि पीडितहरूले अझै आफूहरूले न्याय नपाएको गुनासो गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् ।