सिरहामा ५५ किलो गाँजासहित युवक पक्राउ

सिरहा, १० भदौ । सिरहा प्रहरीले ५५ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार बिहान करिब साढे ३ बजे नैनपुरबाट मुसहरनियातर्फ जाँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार मोटरसाइकलमा तीन वटा बोराभित्र राखेर गाँजा ओसारपसार गरिरहेको अवस्थामा सिरहाको औरही गाउँपालिका–४ का २८ वर्षीय विक्रम यादव पक्राउ परेका हुन् ।
प्रहरीले यादवले चलाएको प्रदेश नम्बर २–०१–००४ प ८३६४ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका यादवलाई मोटरसाइकलसहित इलाका प्रहरी कार्यालयमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

