जनकपुरधाम, १० भदौ । इस्लाम धर्मका संस्थापक पैगम्बर हजरत मोहम्मदको जन्मजयन्ती ईद–ए–मिलादुन्नबीको अवसरमा मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मुस्लिम समुदायसहित सम्पूर्ण प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख कर्णले बुधबार शुभकामना सन्देश जारी गर्दै पैगम्बर हजरत मोहम्मदले मानव जातिलाई देखाएको सत्य, करुणा, दया, शान्ति र सामाजिक न्यायको मार्ग आजको समयमा समेत उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।

उनले पैगम्बर मोहम्मदका शिक्षाले समाजमा आपसी सद्भाव, भाइचारा तथा असहाय र विपन्नप्रति सेवाभाव विकास गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक पहिचान बोकेको मधेश प्रदेश धार्मिक सहिष्णुता र आपसी भाइचाराको उदाहरण रहेको उल्लेख गर्दै प्रदेश प्रमुख कर्णले यस्ता धार्मिक तथा सांस्कृतिक पर्वले विभिन्न समुदायबीचको एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाउने बताएका छन् ।

ईद–ए–मिलादुन्नबीले प्रदेशमा स्थायी शान्ति, प्रगति र समृद्धिको बाटोमा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले सत्य र न्यायको मार्गमा अघि बढ्ने शक्ति प्रदान होस् भन्ने कामना गरेका छन् ।

प्रदेश प्रमुख कर्णले देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायका साथै समस्त प्रदेशवासीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।