अधिकार र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा चरवाको शक्ति प्रदर्शन

जनकपुरधाम, ०९ भदौ । आफ्नो पहिचान, अधिकार र पुनःस्थापनाको माग गर्दै मधेश प्रदेशका मुक्त हरवा चरवाले सोमबार जनकपुरधाममा दबाबमूलक र्याली प्रदर्शन गरेका छन् ।
मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका मुक्त हरवा चरवा, अधिकारकर्मी तथा सामाजिक अभियन्ताको सहभागितामा नवगठित हरवा चरवा संघर्ष समितिको आयोजनामा र्याली निकालिएको हो ।
प्रदेश सरकारले मुक्त हरवा चरवाका समस्या र माग सम्बोधन गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले र्याली आयोजना गरिएको समितिले जनाएको छ ।
जनकपुरधामस्थित रेलवे स्टेशनबाट सुरु भएको र्याली नगरका विभिन्न मुख्य सडक हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मूल गेटसम्म पुगेको थियो ।
र्यालीमा सहभागीहरूले मुक्त हरवा चरवाको पहिचान सुनिश्चित गर्नुपर्ने, उचित पुनःस्थापना गर्नुपर्ने तथा शिक्षा, स्वास्थ्य, रोजगारी र जीविकोपार्जनका अवसर उपलब्ध गराउनुपर्ने माग गरेका थिए ।
संघर्ष समितिका सदस्य लागेन्द्र सदाले सरकारले माग सम्बोधनका लागि ठोस प्रतिबद्धता नजनाएसम्म आन्दोलन जारी रहने बताए ।
उनका अनुसार हरवा चरवा प्रथा अन्त्य भएको घोषणा गरिए पनि त्यसबाट मुक्त भएका धेरै परिवार अझै भूमि, आवास, रोजगारी र सामाजिक सुरक्षाजस्ता आधारभूत अधिकारबाट वञ्चित छन् ।
मुक्त हरवा चरवाको जीवनस्तर सुधारका लागि राज्यले प्रभावकारी पुनःस्थापना कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ ।
विगतमा गरिएका घोषणा र प्रतिबद्धता कार्यान्वयनमा नआएको भन्दै उनीहरूले प्रदेश सरकारलाई तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन् ।

संघर्ष समितिले आन्दोलनको दोस्रो चरणअन्तर्गत भदौ १० गते बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि धर्ना दिने जनाएको छ ।
धर्नाका क्रममा प्रदेश सरकारलाई मागपत्र बुझाउँदै मुक्त हरवा चरवाका समस्या तत्काल सम्बोधन गर्न दबाब दिने समितिको तयारी छ ।
समितिले सरकारले माग सम्बोधनमा बेवास्ता गरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ ।

