मधेश प्रहरीलाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम, ०९ भदौ । मधेश प्रदेश सरकारले प्रदेश प्रहरीको सञ्चार प्रणालीलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन विभिन्न सञ्चार सामग्री हस्तान्तरण गरेको छ ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले खरिद गरेका सञ्चार सामग्री मन्त्रालय परिसरमा आयोजित एक कार्यक्रमबीच मधेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख ओमप्रसाद अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
सञ्चार प्रणालीलाई आधुनिक र व्यवस्थित बनाउँदै प्रहरीका विभिन्न इकाइबीच सूचना आदानप्रदान तथा समन्वयलाई सहज बनाउने उद्देश्यले सामग्री उपलब्ध गराइएको मन्त्री महतोले बताए ।
उनका अनुसार सुरक्षित र शान्त मधेश निर्माणका लागि प्रहरीलाई आवश्यक स्रोत साधन सम्पन्न बनाउनु प्रदेश सरकारको प्राथमिकतामा रहेको छ ।
मन्त्री महतोले शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक प्रविधि तथा उपकरण उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
सञ्चार साधनको पर्याप्त उपलब्धताले सुरक्षा व्यवस्थापन, सूचना सम्प्रेषण र प्रहरीबीचको समन्वयलाई थप चुस्त बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।
मन्त्रालयका अनुसार हस्तान्तरण गरिएका सञ्चार सामग्रीको प्रयोगसँगै प्रदेश प्रहरीका विभिन्न कार्यालय तथा सुरक्षा इकाइबीच सूचना आदानप्रदान थप प्रभावकारी हुने विश्वास गरिएको छ ।
विशेषगरी सुरक्षा चुनौतीका समयमा प्रहरीको तत्काल समन्वय र परिचालनमा यसले सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।
कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका अधिकारी तथा गृह, सञ्चार तथा कानुन मन्त्रालयका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

