जनकपुरधाममा बजाजका दुई नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक

जनकपुरधाम, ०९ भदौ । बजाज अटोले विद्युतीय सवारीसाधनको पोर्टफोलियो विस्तार गर्दै चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल C2501 र C3503 जनकपुरधाममा सार्वजनिक गरेको छ ।
विश्वकर्मा चोकस्थित ओम अटोमोबाइल्समा मंगलबार आयोजित कार्यक्रममा दुवै मोडल सार्वजनिक गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले विद्युतीय सवारीको बढ्दो प्रयोगले वातावरण संरक्षणसँगै नेपालमा ऊर्जा खपतको ढाँचामा समेत सकारात्मक परिवर्तन ल्याउन सक्ने बताए ।
उनले जनकपुरधामजस्तो तीव्र रूपमा विस्तार भइरहेको शहरमा आधुनिक, किफायती र वातावरणमैत्री सवारीको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै निजी क्षेत्रले विद्युतीय सवारीको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखे ।
कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जीतेन्द्र महासेठले विद्युतीय सवारीको बजार विस्तारसँगै बिक्रीपछिको सेवा, चार्जिङ पूर्वाधार र ग्राहकलाई सहज सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
उनले नयाँ प्रविधिका सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढिरहेको अवस्थामा गुणस्तरीय उत्पादनसँगै प्रभावकारी सेवा नेटवर्क आवश्यक रहेको बताए ।

ओम अटोमोबाइल्सका सञ्चालक सन्तोष साहले जनकपुरधाममा बजाजका नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्न पाउँदा आफूहरू उत्साहित भएको बताए ।
उनले ग्राहकको आवश्यकता र बदलिँदो जीवनशैलीलाई ध्यानमा राखेर फरक विशेषता, रेन्ज र डिजाइन भएका मोडल बजारमा ल्याइएको उल्लेख गर्दै जनकपुरधामसहित मधेशका उपभोक्तालाई विद्युतीय सवारीतर्फ आकर्षित गर्न यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
C2501 को ११३ किलोमिटर रेन्जसहित मूल्य २ लाख ८१ हजार ९ सय रहेको छ । नयाँ चेतक C2501 २.५ kWh क्षमताको लिथियम–आयन ब्याट्रीबाट सञ्चालन हुन्छ ।
कम्पनीका अनुसार यसले IDC मापदण्डअनुसार एकपटक पूर्ण चार्जमा ११३ किलोमिटरसम्मको रेन्ज दिन्छ । यसको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ ।
यसमा ० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न करिब २ घण्टा २५ मिनेट लाग्ने फास्ट चार्जिङ सुविधा रहेको कम्पनीले जनाएको छ ।
भाइब्रेन्ट कलर LCD डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, म्युजिक प्ले/पज कन्ट्रोल, रिभर्स मोड तथा २५ लिटरको अन्डर–सिट स्टोरेज यसका प्रमुख विशेषता हुन् ।
C2501 ग्लसी एक्टिभ ब्ल्याक, ओपालेसेन्ट सिल्भर, क्लासिक ह्वाइट, रेसिङ रेड, ओसन टिल (म्याट) र मिस्टी यल्लो गरी विभिन्न रंगमा उपलब्ध छ । यसको मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
त्यस्तै, चेतक C3503 मा ३.५ kWh क्षमताको लिथियम–आयन ब्याट्री प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले IDC मापदण्डअनुसार एकपटकको चार्जमा १५१ किलोमिटरसम्मको रेन्ज र अधिकतम ७० किलोमिटर प्रतिघण्टा गति प्रदान गर्छ ।
रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजन गरिएको C3503 मा पूर्ण मेटल बडी, डिजिटल LCD डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, इनकमिङ कल तथा म्यासेज अलर्ट र ३५ लिटरको अन्डर–सिट स्टोरेज रहेको छ ।
घोडाको नालजस्तो आकारको क्लासिक DRL हेडलाम्पले चेतकको मौलिक डिजाइनलाई निरन्तरता दिएको कम्पनीको भनाइ छ । C3503 इन्डिगो मेटालिक, ब्रुकलिन ब्ल्याक, म्याट चाकल ग्रे र साइबर ह्वाइट गरी चार रंगमा उपलब्ध हुनेछ ।
बजाज अटोले नेपालमा आफ्ना विद्युतीय सवारीको बजार विस्तार गर्ने क्रममा नयाँ मोडलहरू थप्दै आएको छ ।
नेपालमा बजाजका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा यी नयाँ मोडल बजारमा ल्याइएको हो ।
कम्पनीका अनुसार चेतक C2501 र C3503 नेपालभरका छनोट गरिएका बजाज डिलरमार्फत बुकिङका लागि उपलब्ध छन् ।
विद्युतीय सवारीका ग्राहकलाई बिक्रीपछिको सेवा उपलब्ध गराउन सर्भिस नेटवर्कलाई समेत प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायी, सञ्चारकर्मी, बजाजका प्रतिनिधि तथा ग्राहकहरूको सहभागिता रहेको थियो ।


