विभिन्न मुद्दाका ७ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम, ०९ भदौ । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ७ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका प्रहरी टोलीले खोजतलास गरी उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सवारी ज्यान, चोरी, भ्रष्टाचार, जालसाजी तथा कुटपिट मुद्दाका फरार प्रतिवादीहरू रहेका छन् ।
पक्राउ परेका प्रतिवादीमध्ये सवारी ज्यान मुद्दामा ९ दिन कैद र ७ हजार रुपैयाँ जरिवाना, चोरी मुद्दामा १९ दिन कैद र १ लाख ७५ हजार रुपैयाँ जरिवाना तथा भ्रष्टाचार मुद्दामा ६ महिना कैद सजाय तोकिएको थियो ।
त्यस्तै, जालसाजी मुद्दामा १२ हजार ५ सय रुपैयाँ जरिवाना तथा तीन जना प्रतिवादीलाई कुटपिट मुद्दामा जनही १ महिना कैद सजाय तोकिएको प्रहरीले जनाएको छ ।
अदालतबाट फैसला भई कैद तथा जरिवाना सजाय तोकिएपछि वारदातपश्चात् फरार रहेका उनीहरूलाई प्रहरीले खोजी अभियानमार्फत पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले अदालतको फैसला कार्यान्वयनअन्तर्गत फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जानकारी दिए ।

