सिरहा, ०९ भदौ । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोला पुलनजिक मंगलबार एक महिलाको शव फेला परेको छ ।

स्थानीयले पुलनजिक महिलाको शव देखेपछि दिउँसो करिब १२ बजे प्रहरीलाई खबर गरेका थिए ।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी सहायक निरीक्षक पुष्करप्रसाद घिमिरेको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।

प्रहरीका अनुसार करिब ४५ वर्ष उमेरकी जस्तो देखिने महिलाको शव घोप्टो अवस्थामा फेला परेको हो । मृतकको पहिचान भने खुल्न सकेको छैन ।

घटनाको थप अनुसन्धान तथा मृतकको पहिचानका लागि इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक दीपक खरेलको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ ।

सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले महिलाको शव फेला परेको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको र मृतकको पहिचान खुलाउने प्रयास जारी रहेको जानकारी दिएका छन् ।