सिरहा, ०९ भदौ । सिरहाको भगवानपुर गाउँपालिका–२ गमहरियाका ११ वर्षीय बालक प्रियांसु भगतको सर्पदंशबाट मृत्यु भएको छ ।

गत भदौ ३ गते राति घरमै सुतिरहेका बेला प्रियांसु र उनका ८ वर्षीय भाइ दिव्यांशु भगतलाई सर्पले डसेको थियो ।

प्रियांसुको कानमा र दिव्यांशुको खुट्टामा सर्पले डसेपछि दुवैलाई तत्काल उपचारका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लगिएको थियो ।

लहानमा प्रारम्भिक उपचारपछि दुवैलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको थियो ।

उपचारकै क्रममा प्रियांसुको अवस्था गम्भीर बन्दै गएपछि सोमबार साँझ करिब ६ बजे उनको मृत्यु भएको परिवारले जनाएको छ ।

परिवारका अनुसार आर्थिक अवस्था कमजोर रहेकाले दुवै बालकको उपचारका लागि गाउँदेखि सामाजिक सञ्जालसम्म सहयोग अभियान सञ्चालन गरिएको थियो ।

सर्पदंशपछि उपचारका लागि लहान लगिएका बालकलाई एन्टिस्नेक भेनम पर्याप्त नभएको भन्दै विराटनगर रेफर गरिएको परिवारको दाबी छ । अस्पतालले भने एन्टिस्नेक भेनम दिएरै बिरामीलाई विराटनगर पठाइएको जनाएको छ ।

प्रियांसुका भाइ दिव्यांशुको स्वास्थ्य अवस्था भने सुधारोन्मुख रहेको र उनलाई सोमबार नै विराटनगरबाट घर ल्याइएको परिवारले जनाएको छ ।

प्रियांसु स्थानीय बालासुन्दरी माध्यमिक विद्यालयमा कक्षा ८ र दिव्यांशु कक्षा ४ मा अध्ययनरत थिए ।

उनीहरूका बुवा भारतको दिल्लीमा मजदुरी गर्दै आएका छन् । दुई छोरालाई सर्पले डसेको खबर पाएपछि उनी भदौ ४ गते घर फर्किएका थिए ।

बालकको मृत्यु भएपछि स्थानीयवासीले जिल्लाकै स्वास्थ्य संस्थामा पर्याप्त एन्टिस्नेक भेनम, आवश्यक औषधि तथा सर्पदंशको प्रभावकारी उपचार सेवा उपलब्ध गराउन माग गरेका छन् ।