-श्याम कुमार ठाकुर
सिरहा, ०९ भदौ ।
सिरहाको मिर्चैया नगरपालिका–५ स्थित गुदरी बजारमा भएको आगलागीमा परी ३० वर्षीया एक महिलाको जलेर मृत्यु भएको छ ।

गुदरी बजारअन्तर्गत गदि खाद टोलमा रहेको निजी निवासमा आगलागी हुँदा महिलाको मृत्यु भएको हो ।

आगलागीपछि घरभित्रबाट उनको पूर्ण रूपमा जलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक रञ्जित महतोकी दोस्रो पत्नी रहेको खुलेको छ । करिब एक वर्षअघि लहानमा विवाह गरेका उनीहरूको आफ्नै सन्तान भने थिएनन् । रञ्जितको पहिलो पत्नीबाट दुई सन्तान रहेको बताइएको छ ।

रञ्जित महतोको पुर्ख्यौली घर कल्याणपुर नगरपालिका–८ मझौ रहेको प्रहरीले जनाएको छ । उनी करिब आठ वर्षदेखि मिर्चैयामा बस्दै आएका थिए ।

पछिल्लो एक वर्षदेखि उनले गुदरी बजारमा बीउबिजनको व्यापारसमेत सञ्चालन गर्दै आएका थिए ।

घटना घना बस्ती तथा व्यस्त व्यापारिक क्षेत्रमा भएकाले आगलागीपछि स्थानीयवासी, व्यापारी तथा सर्वसाधारणको ठूलो भीड घटनास्थलमा जम्मा भएको थियो । घटनाले गुदरी बजारलाई नै शोकमा डुबाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक वासुदेव पाठकका अनुसार आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

घटनाको वास्तविक अवस्था पत्ता लगाउन इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी टोली परिचालन गरी घटनास्थलबाट प्रमाण संकलन तथा अनुसन्धान भइरहेको छ ।

प्रहरीले आगलागी विद्युत् सर्ट, ग्यास वा अन्य कारणले भएको हो भन्ने विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनाको विस्तृत विवरण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।