जनकपुरधाम, ०९ भदौ । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाले निवर्तमान सभापति नरेश प्रसाद सिंहलाई पदको बरबुझारथ गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

शाखाले सिंहलाई यसअघि साउन २५ गते हुलाकमार्फत रजिष्ट्री गरी पत्र पठाएको भए पनि उक्त पत्र फिर्ता भएको जनाएको छ ।

पत्र फिर्ता भएपछि पनि सिंह हालसम्म शाखामा उपस्थित भई पद तथा जिम्मेवारीको बरबुझारथ नगरेको शाखाको भनाइ छ ।

शाखाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालयमा उपस्थित भई आवश्यक बरबुझारथ गर्न सिंहलाई आग्रह गरेको छ ।

तोकिएको अवधिभित्र बरबुझारथका लागि उपस्थित नभएमा नेपाल रेडक्रस सोसाइटीको विधानअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने शाखाले सार्वजनिक सूचनामार्फत चेतावनी दिएको छ ।

नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाले संस्थाको जिम्मेवारी हस्तान्तरण तथा अभिलेख व्यवस्थापनका लागि सम्बन्धित पदाधिकारीले समयमै बरबुझारथ गर्नुपर्ने जनाएको छ ।