जनकपुरधाम, ०९ भदौ । जनकपुरधाम उपमहानगरपालिका–६ नमस्कार चोकस्थित एक होटलको कोठामा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

न्यू राजधानी गेष्ट हाउसको कोठाभित्र झुण्डिएको अवस्थामा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार मृतक युवतीको पहिचान खुल्न सकेको छैन ।

उनी खोटाङको हलेसी घर भएकी रहेको प्रारम्भिक जानकारी प्राप्त भएको र आफन्त आएपछि उनको पहिचान तथा घटनाबारे थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार युवती केही दिनदेखि एक युवकसँगै उक्त होटलमा बस्दै आएकी थिइन् ।

मंगलबार युवक होटलबाट बाहिरिएपछि युवती भने कोठामै रहेको बताइएको छ । पछि होटलको कोठामा युवती मृत अवस्थामा फेला परेकी हुन् ।

कोठाको ढोका भित्रबाटै बन्द रहेको र घटनाको प्रकृतिबारे प्रहरीले अनुसन्धान गरिरहेको डीएसपी खनालले बताए ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले सिरहा घर भएका एक युवकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका युवक र मृतक युवतीबीचको सम्बन्ध तथा घटनामा उनको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको र आफन्त आएपछि मृतकको पहिचान तथा घटनाको थप तथ्य सार्वजनिक गरिने जनाएको छ ।