जनकपुरधाम, ०९ भदौ । मधेश प्रदेशमा आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानीको वातावरण कमजोर बन्दै जाँदा एक वर्षमै झण्डै दुई हजार उद्योग तथा व्यवसाय बन्द भएका छन् ।

मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर १ हजार ९३८ उद्योग तथा व्यवसायको लगत कट्टा भएको छ । यसमध्ये ८२१ उद्योग र १ हजार ११७ वाणिज्यतर्फका व्यवसाय रहेका छन् ।

मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोका अनुसार सोही अवधिमा प्रदेशमा ५ हजार ६८ नयाँ उद्योग दर्ता भएका छन् ।

नयाँ उद्योग दर्तामा पर्सा सबैभन्दा अगाडि रहेको छ । पर्सामा १ हजार १०१, धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ नयाँ उद्योग दर्ता भएका छन् ।

उद्योगतर्फ भने नयाँ दर्तासँगै नवीकरण गर्नेको संख्या पनि उल्लेख्य देखिएको छ । गत आवमा ७ हजार ५४० उद्योग नवीकरण भएका छन् ।

वाणिज्यतर्फ पनि नयाँ व्यवसाय दर्ता र नवीकरणको क्रम जारी रहेको मन्त्रालयले जनाएको छ ।

सो अवधिमा ६ हजार १२२ निजी फर्म र १८ साझेदारी फर्म नयाँ दर्ता भएका छन् भने ११ हजार १४४ वाणिज्य व्यवसाय नवीकरण भएका छन् ।

उद्योग तथा वाणिज्यसम्बन्धी दर्ता, नवीकरणलगायतका सेवाबाट प्रदेश सरकारले गत आर्थिक वर्षमा ५ करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व संकलन गरेको छ ।

तर, नयाँ उद्योग तथा व्यवसाय दर्ता भइरहे पनि ठूलो संख्यामा पुराना उद्योग व्यवसायको लगत कट्टा हुनु प्रदेशको औद्योगिक वातावरणका लागि चुनौतीका रूपमा देखिएको छ ।

मन्त्रालयका अनुसार विश्वव्यापी आर्थिक तरलताको प्रभाव, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा कमी र व्यवसायीमा पूँजी अभावजस्ता कारणले उद्योग बन्द हुने क्रम बढेको हो ।

स्थानीय तहबाट समेत उद्योग दर्ता हुन थालेकाले प्रदेश सरकारअन्तर्गतको लगत कट्टा हुने संख्या बढेको मन्त्रालयको भनाइ छ ।

एकातिर नयाँ उद्योग दर्ता र नवीकरणको संख्या उल्लेख्य हुनु र अर्कोतिर हजारौँ उद्योग व्यवसायको लगत कट्टा हुनु मधेशको औद्योगिक क्षेत्र अझै दबाबमा रहेको संकेतका रूपमा देखिएको छ ।

लगानीको वातावरण सुधार, सहज कर्जा प्रवाह र व्यवसायीको पूँजीगत समस्या समाधान गर्न नसके उद्योग बन्द हुने क्रमले रोजगारी र प्रदेशको राजस्वमा समेत असर पार्न सक्ने देखिन्छ ।