धनुषामा विभिन्न मुद्दाका ६ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम, ०८ भदौ । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको फैसला भएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रहरी टोलीले खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये एक जना कुटपिट मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएका व्यक्ति छन् । त्यस्तै, सवारी ज्यान मुद्दामा २८ दिन कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएका एक जना पक्राउ परेका छन् ।
डाका मुद्दामा ६ वर्ष २८ दिन कैद तथा ९ लाख ४५ हजार ४५० रुपैयाँ जरिवाना तोकिएका एक जना र अवैध विदेशी मुद्रा कारोबार मुद्दामा ९ लाख १६ हजार ६६६ रुपैयाँ जरिवाना तोकिएका अर्का प्रतिवादी पनि पक्राउ परेका छन् ।
त्यसैगरी, लागूऔषध मुद्दामा २ वर्ष कैद तथा जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय तोकिएका एक–एक जना फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार अदालतबाट फैसला कार्यान्वयनका क्रममा फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको छ ।

