शिवानी मृत्यु प्रकरण: दाइजो यातनाको आरोपमा चार जनाविरुद्ध जाहेरी

महोत्तरी, ०८ भदौ । विवाह भएको दुई महिना नपुग्दै महोत्तरीमा एक नवविवाहित युवतीको मृत्यु भएको छ ।
दाइजोमा मोटरसाइकल, सुनलगायतका सामग्री नदिएको भन्दै ससुराली पक्षले निरन्तर शारीरिक तथा मानसिक यातना दिएको र सोही कारण छोरीको मृत्यु भएको मृतकका माइती पक्षले आरोप लगाएका छन् ।
भारतको सुरसण्ड निवासी २२ वर्षीया शिवानी राउतको महोत्तरीको पिपरा गाउँपालिका–५ स्थित ससुरालीमा मृत्यु भएको हो ।
घटनापछि मृतककी आमा रुवी देवीले उनका पति, दुई देवर र सासूविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी छन् ।
रुवीका अनुसार छोरी शिवानीलाई भेट्न जलेश्वर नगरपालिका–८ रमौलस्थित मामाघरबाट ससुराली पुगेकी थिइन् । भेटका क्रममा शिवानीले विवाहपछि मोटरसाइकल र सुनका लागि आफूलाई ससुराली पक्षले कुटपिट गर्नुका साथै मानसिक यातना दिने गरेको बताएकी थिइन् ।
मुण्डन कार्यक्रममा सहभागी गराउन छोरीलाई पठाइदिन आग्रह गर्दा ससुराली पक्षले मोटरसाइकल र सुन नदिएसम्म कतै जान नदिने जवाफ दिएको रुवीको भनाइ छ ।
उनका अनुसार दिउँसो करिब २ बजे छोरीलाई भेटेर आफू फर्किएको करिब चार घण्टापछि शिवानीको मृत्यु भएको खबर आएको थियो ।
जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुग्दा छोरीको घाँटीमा निलडाम देखिएको भन्दै रुवीले ससुराली पक्षले घाँटी थिचेर हत्या गरेको आशंका व्यक्त गरेकी छन् ।
जाहेरीमा शिवानीका पति सजन राउत, देवरद्वय प्रेम राउत र निराजन राउत तथा सासू नूतन देवीलाई विपक्षी बनाइएको छ ।
जाहेरीअनुसार शिवानी र सजनबीच २०८३ साल असार १६ गते विवाह भएको थियो ।
विवाहका क्रममा माइती पक्षले आफ्नो क्षमताअनुसार दाइजो तथा अन्य सामग्री दिएको भए पनि त्यसपछि थप दाइजो, सुन र मोटरसाइकल माग गर्दै शिवानीलाई यातना दिने गरिएको आरोप छ ।
मृतकका मामा दिपुकुमार कापरका अनुसार भदौ ४ गते राति शिवानीले आफूलाई श्रीमान्, सासू र देवरहरूले मोटरसाइकल ल्याउन दबाब दिने, घाँटी दबाउने तथा कुटपिट गर्ने गरेको बताएकी थिइन् ।
ससुराली पक्षले भने शिवानीले झुन्डिएर आत्महत्या गरेको बताएको माइती पक्षको भनाइ छ । तर, शवको अवस्था शंकास्पद देखिएको भन्दै परिवारले थप परीक्षणका लागि पोस्टमार्टम धरान अस्पतालमा पठाइएको जनाएको छ ।
घटनामा प्रहरीले पति र सासूसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले घटनासम्बन्धी जाहेरी प्राप्त भएको पुष्टि गर्दै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरी अनुसन्धानपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ ।

