राम युवा कमिटीले स्थापना दिवसमा विविध कार्यक्रम गर्ने

जनकपुरधाम, ०८ भदौ । जनकपुरधामस्थित श्री राम युवा कमिटीले आफ्नो ३६औँ स्थापना दिवसको अवसरमा विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम आयोजना गर्ने भएको छ ।
स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै कमिटीले सरसफाइ, वृक्षारोपण, दीप प्रज्वलन, मानव सेवा आश्रममा निःशुल्क भोजन तथा रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
कमिटीका महासचिव सुभाष चन्द्र शाहका अनुसार भदौ ११ गते बिहान ७ः३० बजे समिति परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गरिनेछ ।
सोही दिन साँझ स्थापना दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिनेछ ।
त्यसैगरी, भदौ १२ गते शुक्रबार साँझ ६ बजे मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको कमिटीले जनाएको छ ।
स्थापना दिवसकै अवसरमा भदौ १३ गते शनिबार बिहान ७ः३० बजेदेखि जनकचोकमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ ।
रक्तदानमार्फत सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको महासचिव शाहको भनाइ छ ।
कमिटीले स्थापना दिवसका सबै कार्यक्रममा संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, पूर्ववरिष्ठ निर्देशक, पूर्वनिर्देशक, पूर्व तथा वर्तमान पदाधिकारी, कार्यसमिति सदस्य तथा सम्पूर्ण सदस्यलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।
कमिटीले स्थापना दिवसलाई उत्सवका रूपमा मात्र नभई सामाजिक सेवा र मानवीय सहयोगका गतिविधिमार्फत मनाउने तयारी गरेको जनाएको छ ।

