जनकपुरधाम, ०८ भदौ । बारा जिल्लामा बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा किशोरले दिएको बयानको भिडियो सार्वजनिक भएपछि प्रहरीले भिडियो खिच्ने एक प्रहरीलाई पक्राउ गरेको छ ।

बयानका क्रममा खिचिएको उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अनुसन्धान प्रक्रियाको गोपनीयता र प्रहरीको भूमिकामाथि प्रश्न उठेको थियो । भिडियोमा घटनाबारे किशोरले बयान दिइरहेको देखिन्छ ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा बयान कक्षमा रहेका प्रहरीमध्ये एक जनाले भिडियो खिचेको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका प्रहरीलाई हिरासतमा राखेर फौजदारी कसुरअन्तर्गत अनुसन्धान तथा कारबाही अघि बढाउने तयारी गरिएको छ ।

बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएको र घटनामा अन्य प्रहरीको संलग्नताबारे समेत अनुसन्धान भइरहेको छ ।

अनुसन्धानका क्रममा संकलन गरिएको संवेदनशील बयानको भिडियो सामाजिक सञ्जालमा कसरी पुग्यो भन्ने विषयमा समेत प्रहरीले छानबिन गरिरहेको जनाएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

बालिका गरिमा चौधरीको हत्याको घटनालाई लिएर यसअघि नै स्थानीयस्तरमा विरोध तथा दोषीमाथि कडा कारबाहीको माग हुँदै आएको थियो ।

पछिल्लो घटनाले भने अनुसन्धान प्रक्रियामा संलग्न प्रहरीको जिम्मेवारी र गोपनीयता कायम गर्ने व्यवस्थामाथि थप प्रश्न उठाएको छ ।