लहान नयाँ बजारमा डोजर, व्यापारीले लगाए पक्षपातको आरोप

सिरहा, ०८ भदौ । लहान नगरपालिकाले नयाँ बजार क्षेत्रमा रहेका सात वटा घरटहरा डोजर लगाएर भत्काएको छ ।
नगरपालिकाले पटकपटक सूचना जारी गर्दा पनि संरचना खाली नगरेपछि डोजर चलाएर हटाइएको जनाएको छ ।
नगरपालिकाले वडा नम्बर-५ स्थित लहान बजार (गुदरी हटिया) क्षेत्रमा रहेका घरटहरा तीन दिनभित्र खाली गर्न सूचना जारी गरेको थियो ।
विकास निर्माणका लागि संरचना हटाउनुपर्ने भन्दै नगरपालिकाले व्यापारीलाई घरटहरा तथा पसलका सामान हटाएर सहयोग गर्न आग्रह गरेको थियो ।
तर, व्यापारीहरूले भने नगरपालिकाले आफूहरूमाथि पक्षपात गरेको आरोप लगाएका छन् । बजारमा करिब दुई सयभन्दा बढी घरटहरा रहे पनि सात वटा संरचना मात्रै भत्काइएको भन्दै उनीहरूले प्रश्न उठाएका हुन् ।
नयाँ बजारका व्यापारी रामसुन्दर साहका अनुसार नगरपालिकाको सूचना पाएपछि आफूहरू घरटहरा खाली गर्ने तयारीमा थिए । तर, बजार समिति र व्यापारीसँग थप छलफल नगरी बिहानै डोजर ल्याएर संरचना भत्काइएको उनको भनाइ छ ।
व्यापारी सरस्वतीदेवी नायकले आफू तीन दशकभन्दा बढी समयदेखि सोही क्षेत्रमा व्यापार गर्दै आएको बताउँदै डोजरका कारण घरभित्र रहेका सामानमा ठूलो क्षति पुगेको गुनासो गरिन् । उनले क्षतिको उचित मूल्यांकन गरी क्षतिपूर्ति दिन माग गरेकी छन् ।
नयाँ बजार समितिका अध्यक्ष भोला रायले पनि नगरपालिकाले बजार समितिसँग समन्वय नगरी संरचना भत्काएको बताए ।
उनका अनुसार बजार व्यवस्थापनका लागि घरटहरा हटाउने विषयमा यसअघि नै छलफल भएको थियो । तर, व्यापारीसँग छलफलका लागि बैठक बस्नुअघि नै डोजर चलाइएको उनले बताए ।
संरचना भत्काउने क्रममा विरोध गर्ने केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको र बजारमा टायर बालेर प्रदर्शनसमेत भएको बजार समितिले जनाएको छ ।
समितिले भत्काइएका संरचनाबाट भएको क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा पहल गर्ने जनाएको छ ।
नगरपालिकाको योजना के छ?
लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले भने संरचना हटाउने काममा कुनै पक्षपात नभएको दाबी गरेका छन् ।
नगरपालिकाको करिब दुई बिघा जग्गामा तीन वटा नयाँ भवन निर्माण भइरहेको र ती भवनमा ७२ वटा कोठा बनाएर नयाँ बजारका व्यापारीलाई व्यवस्थापन गर्ने योजना रहेको उनले बताए ।
पुराना संरचना हटाउन पटकपटक सूचना जारी गरे पनि अटेर गरिएपछि अन्तिम विकल्पका रूपमा डोजर प्रयोग गरिएको नगर प्रमुख चौधरीको भनाइ छ ।
बजारमा रहेका सबै अवैध तथा पुराना संरचना क्रमशः हटाइने उनले बताए । सात वटा संरचना मात्रै किन भत्काइएको भन्ने प्रश्नमा उनले आवश्यक प्रक्रिया पूरा गर्दै बाँकी संरचना पनि हटाइने बताएका छन् ।
नगरपालिकाले नयाँ संरचना निर्माण गरी बजारलाई व्यवस्थित गर्ने योजना अघि सारे पनि प्रभावित व्यापारीहरूले भने आफूहरूको सम्पत्तिमा भएको क्षतिको मूल्यांकन र उचित क्षतिपूर्तिको माग गरेका छन् ।

