मधेश सरकारले प्रहरीलाई दियो १२ वटा पिकअप जिप

जनकपुरधाम, ०८ भदौ । मधेश प्रदेश सरकारले प्रदेशको शान्तिसुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण गरेको छ ।
प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले खरिद गरेका ती सवारीसाधन सोमबार गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नेपाल प्रहरीलाई हस्तान्तरण गरेका हुन् ।
प्रहरीका अनुसार आठवटै जिल्ला प्रहरी कार्यालय र चारवटा इलाका प्रहरी कार्यालयलाई लक्षित गरी सवारीसाधन उपलब्ध गराइएको हो ।
चन्द्रपुर, गरुडा, गोडैता र गडहिया इलाका प्रहरी कार्यालयलाई पनि एक–एक वटा पिकअप जिप प्रदान गरिएको छ ।
सवारीसाधन हस्तान्तरण गर्दै मन्त्री महतोले प्रहरीको परिचालन क्षमता बढाउँदै प्रदेशमा शान्तिसुरक्षा र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।
हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव विन्देश्वरीप्रसाद लेखक, मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीलगायत प्रहरी तथा मन्त्रालयका अधिकारीहरूको उपस्थिति थियो ।
प्रदेश सरकारले उपलब्ध गराएका पिकअप जिप प्रतिगाडी भ्याटसहित ३९ लाख ५ हजार रुपैयाँका दरले खरिद गरिएको जनाएको छ ।






