बारा, ०८ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की बालिका गरिमा चौधरीको हत्या प्रकरणमा प्रहरीले थप एक १४ वर्षीय बालकलाई पक्राउ गरेको छ ।

जितपुरसिमरा–२ का कक्षा ९ मा अध्ययनरत १४ वर्षीय प्रदीप खड्कालाई आइतबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यसअघि पक्राउ परेका सुमन थापाले बयानका क्रममा खड्काको समेत घटनामा संलग्नता रहेको बताएपछि उनलाई पक्राउ गरिएको हो ।

खड्काको पक्राउसँगै गरिमा हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ ।

गरिमाको परिवारले पूरक जाहेरी दिएपछि प्रहरीले शनिबार थप पाँच जनालाई पक्राउ गरेको थियो ।

यसअघि बालिकाको शव भेटिएपछि प्रहरीले सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा प्राप्त विवरणका आधारमा अन्य व्यक्तिहरूलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा पक्राउ परेका अन्य व्यक्तिहरूको पहिचान प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ ।