जनकपुरधाम, ०८ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ दसधुरीकी तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा पक्राउ परेका १६ वर्षीय किशोरसँग गरिएको सोधपुछको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी अनुसन्धानको गोपनीयतामाथि प्रश्न उठेको छ ।

हातमा हतकडी लगाइएका किशोरसँग गरिएको सोधपुछको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले घटनाबारे चासो देखाएका छन् ।

गरिमा हत्या प्रकरणका मुख्य आरोपितका रूपमा पक्राउ परेका किशोरले प्रहरीसमक्ष घटनामा आफ्नो संलग्नता स्वीकार गरेको र प्रदीप खड्का नाम गरेका साथीसँग मिलेर अपराध गरेको बताएको भिडियोमा सुनिन्छ ।

यद्यपि, सार्वजनिक भएको भिडियोको सम्पूर्ण दृश्य र त्यसमा देखाइएका विवरणको आधिकारिक पुष्टि प्रहरीले गरिसकेको छैन ।

भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवर र डीएसपी मीनबहादुर घलेसँग समेत घटनाबारे सोधपुछ थालिएको स्रोतले जनाएको छ ।

संवेदनशील आपराधिक घटनाको अनुसन्धानका क्रममा तयार भएको अडिओ–भिडियो कसरी सामाजिक सञ्जालसम्म पुग्यो भन्ने विषयमा समेत छानबिन भइरहेको बताइएको छ ।

साइबर ब्युरोले भिडियोको डिजिटल ट्रेकमार्फत त्यसको स्रोत र प्रसारणको क्रम पत्ता लगाउने काम गरिरहेको स्रोतको दाबी छ ।

भाइरल भिडियोमा हतकडी लगाइएका किशोरसँगै दुई जना प्रहरीसमेत देखिन्छन् ।

अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकले प्रश्न गरिरहेको अवस्थामा भिडियो खिचिएको दाबी गरिएको छ । तर, भिडियो कसले खिच्यो, कसरी बाहिरियो र सामाजिक सञ्जालमा कसले सार्वजनिक गर्‍यो भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।

अनुसन्धानसँग सम्बन्धित संवेदनशील सामग्री अनधिकृत रूपमा सार्वजनिक हुनु प्रहरीको आन्तरिक प्रोटोकल तथा अनुसन्धानको गोपनीयतासँग जोडिएको विषय भएकाले घटनालाई गम्भीर रूपमा लिइएको स्रोतले जनाएको छ ।

भिडियो सार्वजनिक गर्ने व्यक्तिसम्म मात्र नभई उनलाई उक्त भिडियो कसले उपलब्ध गरायो भन्ने श्रृंखलासमेत पहिल्याउने गरी अनुसन्धान अघि बढाइएको बताइएको छ ।

भिडियो सार्वजनिक हुनुमा प्रहरीभित्रकै कुनै व्यक्तिको संलग्नता छ वा छैन भन्ने कोणबाट समेत छानबिन भइरहेको स्रोतको भनाइ छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरसँग प्रतिक्रिया लिन प्रयास गरिए पनि सम्पर्क हुन सकेन ।

यसैबीच, तीन वर्षीया गरिमाको हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीयस्तरमा विरोधसमेत हुँदै आएको छ ।

घटनाको अनुसन्धानसँगै प्रहरी हिरासतमा रहेका आरोपितको अधिकार, अनुसन्धानको गोपनीयता र संवेदनशील सामग्री सार्वजनिक भएको विषयमा समेत प्रश्न उठेको छ ।