डा. विमलको साहित्यिक यात्रामाथि ‘विमल विमर्श’

जनकपुरधाम, ०७ भदौ । वरिष्ठ साहित्यकार तथा लेखक डा. राजेन्द्रप्रसाद विमलको स्मृति तथा श्रद्धाञ्जलीमा ‘विमल विमर्श’ कार्यक्रम सम्पन्न भएको छ ।
छाता इनिसिएटिभको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले डा. विमलले नेपाली तथा मैथिली साहित्यको विकासमा पुर्याएको योगदान, उनको साहित्यिक यात्रा तथा समाज र संस्कृतिमा खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।
कार्यक्रममा लेखक रोशन जनकपुरी, कवि तथा पत्रकार अमरेन्द्र कुमार यादव, साहित्यकार नित्यानन्द मण्डल र पत्रकार मनिका झा वक्ताका रूपमा सहभागी थिए ।
वक्ताहरूले डा. विमलको निधनले नेपाली तथा मैथिली साहित्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उनको सिर्जना र योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख सुखदेव यादवले साहित्यकार तथा स्रष्टाहरूले समाजलाई चेतना, विचार र दिशानिर्देश प्रदान गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
उनले डा. विमलको साहित्यिक योगदानलाई संरक्षण गर्दै भावी पुस्तालाई समेत त्यसबारे अध्ययन र अनुसन्धान गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राखे ।
कार्यक्रमको अध्यक्षता छाता इनिसिएटिभका अध्यक्ष अमरेन्द्र कुमार यादवले गरेका थिए ।
कार्यक्रममा युवा, बुद्धिजीवी, समाजसेवी, साहित्यप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले डा. विमलप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको साहित्यिक योगदान, विचार र सिर्जनालाई निरन्तर अध्ययन तथा विमर्शको विषय बनाउनुपर्ने बताएका थिए ।
उनीहरूले डा. विमलले नेपाली र मैथिली साहित्यमा पुर्याएको योगदानलाई आगामी पुस्तासम्म हस्तान्तरण गर्नु नै उनीप्रतिको सच्चा सम्मान हुने धारणा व्यक्त गरे ।

