जनकपुरधाम, ०७ भदौ । धनुषामा श्रीमतीको हत्या गरेको अभियोगमा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीले लक्ष्मीनियाँ गाउँपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो ।

यादवले २०८० साउन १५ गते आफ्नै घरको कोठामा श्रीमती रुवी शर्मा ठाकुरलाई ढुंगाले प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ ।

घटनापछि फरार रहेका यादवलाई उच्च अदालत जनकपुरधामले २०८३ जेठ २२ गतेको फैसलामार्फत ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

अदालतको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले यादवलाई लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित सखी बजारमा हिँडडुल गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउपछि यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइएको छ । उनलाई अदालतमा उपस्थित गराई फैसला कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।