जनकपुरधामका पोखरी अतिक्रमण हटाउन डोजर, ६५ घरटहरा भत्काइए

जनकपुरधाम, ०७ भदौ । जनकपुरधामका धार्मिक तथा ऐतिहासिक पोखरी अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत शनिबार सात वटा पोखरीको डिल अतिक्रमण गरी बनाइएका ६५ वटा घरटहरा भत्काइएको हो ।
गुठी संस्थानको संयोजकत्वमा नेपाल सरकारले गठन गरेको समितिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी डोजरमार्फत अतिक्रमित संरचना हटाएको हो ।
दशरथ, रत्नसागर, गोड्धोईललगायत पोखरीको डिलमा निर्माण गरिएका घर, पसल, होटल तथा अन्य पक्की र कच्ची संरचना हटाइएको जनाइएको छ ।
अभियानका क्रममा पोखरी अतिक्रमण गरी बनाइएको पाँचतले घरसहित तीन वटा टहरा समेत भत्काइएको छ । अतिक्रमित संरचना हटाउनुअघि नै सम्बन्धित क्षेत्रको सीमांकन र रेखांकन गरिएको थियो ।
गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिले यसअघि नै अतिक्रमित संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको थियो । सूचना अटेर गर्दै संरचना नहटाइएपछि शुक्रबार जनकपुरधाममा माइकिङ गरी स्वेच्छिक रूपमा संरचना हटाउन आग्रह गरिएको थियो ।
समितिका अनुसार जनकपुरका ४९ वटा पोखरीमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा क्रमशः हटाइने तयारी छ । अन्य अतिक्रमित पोखरीको समेत सीमांकन तथा रेखांकनको काम भइरहेको जनाइएको छ ।
अतिक्रमण हटाउने कार्ययोजनाअनुसार पहिलो चरणमा पोखरीलाई अतिक्रमणमुक्त बनाइनेछ । त्यसपछि मन्दिर परिसर र अन्य गुठी जग्गामा भएको अतिक्रमण हटाउने योजना छ ।
जनकपुरधामको गुठी जग्गामा भएको अतिक्रमण पहिचानका लागि २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनलाई आधार बनाइएको समितिले जनाएको छ ।
सोही प्रतिवेदनका आधारमा अतिक्रमित क्षेत्र पहिचान गरी चरणबद्ध रूपमा संरचना हटाउने काम अघि बढाइएको हो ।
समितिले जनकपुरधामका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणका लागि अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ ।

