सिरहा, ०७ भदौ । सिरहामा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन युवकलाई पक्राउ गरेको छ ।

गोलबजार नगरपालिका–३ स्थित विकास होटलअगाडि शनिबार राति शङ्कास्पद अवस्थामा मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले चेकजाँचका क्रममा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–८ का १९ वर्षीय दीपककुमार यादव, वडा नम्बर–७ का २० वर्षीय आशिक महतो र वडा नम्बर–६ का १८ वर्षीय राजेशकुमार दास रहेका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू मधेश प्रदेश ०१–००५ प २४९३ नम्बरको मोटरसाइकलमा कसहाबाट गोलबजारतर्फ आउँदै थिए ।

शङ्का लागेर प्रहरीले मोटरसाइकल रोकी जाँच गर्दा उनीहरूको साथबाट ११ दशमलव ६२ मिलिग्राम ब्राउन सुगर र नगद २ हजार ९ सय २० रुपैयाँ बरामद भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवं डिएसपी रमेशबहादुर पालका अनुसार पक्राउ परेका तीनै जनालाई मोटरसाइकलसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ ।

प्रहरीले बरामद लागुऔषधको स्रोत तथा उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।