पर्सा, ०७ भदौ । पर्साको विन्दवासिनी गाउँपालिका–२ ढोङ्गही खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।

भैँसी चराउन गएका बहुदरमाई नगरपालिका–१ निवासी अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिरको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीले राउत खोलामा बेपत्ता भएको सूचना दिएपछि सुरक्षा निकायले खोजी अभियान सञ्चालन गरेको थियो ।

सशस्त्र प्रहरीको सुरक्षा बेस पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सञ्जय रेग्मीको कमान्डमा विपद् व्यवस्थापन टोली तथा इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको कमान्डमा प्रहरी टोली परिचालन गरिएको थियो ।

खोजीका क्रममा सशस्त्र प्रहरीको टोलीले राउतलाई खोलामा डुबेको अवस्थामा मृत फेला पारेको हो ।

शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि नारायणी अस्पताल पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।