बारा, ०७ भदौ । बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाले सर्वसाधारणमा त्रास बढाइरहेका बेला कलैयाबाट बेपत्ता भएकी दुई वर्षीया बालिका रातभरको खोजीपछि सकुशल फेला परेकी छन् ।

कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट शनिबार साँझ बेपत्ता भएकी मुकेश मण्डलकी दुई वर्षीया छोरी बिन्दी मण्डल आइतबार बिहान कलैया–२६ स्थित सिसवा महेशपुरमा फेला परेकी हुन् ।

स्थानीय एक महिलाले सडक किनारको नालामा बालिका रोइरहेको अवस्थामा देखेपछि उद्धार गरी आफ्नै घरमा लगेर सुरक्षित राखेकी थिइन् । बालिका फेला परेको जानकारी पाएपछि प्रहरीले अभिभावकसँग समन्वय गरी उनलाई परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बालिका हराएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरको कमान्डमा नेपाल प्रहरीसहित सुरक्षा निकायले रातभर खोजी अभियान सञ्चालन गरेको थियो ।

खोजीका क्रममा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको थियो भने नेपाली सेना र सशस्त्र प्रहरीको समेत सहयोग लिइएको प्रहरीले जनाएको छ ।

सिमरामा तीन वर्षीया बालिकाको हत्या भएको घटनापछि जिल्लामा बालबालिकाको सुरक्षालाई लिएर त्रास बढिरहेका बेला दुई वर्षीया बिन्दी बेपत्ता भएपछि स्थानीय र परिवारमा समेत चिन्ता बढेको थियो । तर, बालिका सकुशल फेला परेपछि परिवारले राहत महसुस गरेका छन् ।

प्रहरीले बालिका कसरी घरबाट बाहिरिइन् भन्ने विषयमा आवश्यक अनुसन्धान तथा घटनाको अवस्थाबारे बुझ्ने काम भइरहेको जनाएको छ ।