कपिलेश्वरमा विद्युत् कटौतीविरुद्ध स्थानीयको प्रदर्शन, हुलाकी राजमार्ग ठप्प

जनकपुरधाम, ०७ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका स्थानीयवासीले विद्युत् आपूर्तिमा देखिएको समस्याको विरोधमा आइतबार बिहानैदेखि हुलाकी राजमार्ग अवरुद्ध गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरण जनकपुरधाम वितरण केन्द्रले कपिलेश्वरमा लामो समयदेखि सिटी फिडरमार्फत हुँदै आएको विद्युत् आपूर्तिलाई केही दिनयता ग्रामीण फिडरमा जोडेको स्थानीयको आरोप छ ।
फिडर परिवर्तन गरिएपछि भोल्टेज कम हुने, पटक–पटक विद्युत् अवरुद्ध हुने र पछिल्लो समय लामो समयसम्म विद्युत् नआउने समस्या देखिएको उनीहरूको भनाइ छ ।
स्थानीयका अनुसार शनिबारदेखि विद्युत् आपूर्ति ठप्प हुँदा करिब ४० डिग्री तापक्रममा घरभित्र बस्न तथा राति सुत्नसमेत समस्या भएको छ ।
विद्युत् नहुँदा घरायसी प्रयोजनका लागि पानी तान्न नसक्दा शौचालयमा समेत पानीको समस्या भएको र इन्भर्टर तथा मोबाइल फोन चार्ज गर्न नपाएको स्थानीयले बताएका छन् ।
विद्युत् समस्या तत्काल समाधान गर्न माग गर्दै स्थानीयवासीले सडकमा प्रदर्शनसहित हुलाकी राजमार्ग अवरुद्ध गरेका हुन् ।
सडक अवरुद्ध भएपछि हुलाकी राजमार्गमा आवतजावतसमेत प्रभावित भएको छ ।
आन्दोलनमा सहभागी स्थानीयले कपिलेश्वर क्षेत्रमा पुनः सिटी फिडरबाट विद्युत् आपूर्ति सुचारु नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
उनीहरूले अत्यधिक गर्मीका बेला विद्युत् आपूर्ति बन्द हुँदा सर्वसाधारणको जनजीवन प्रभावित भएकाले प्राधिकरणले तत्काल समस्या समाधान गर्नुपर्ने माग गरेका छन् ।




