सप्तरीमा तीन वर्षीया बालिका मृत फेला, शंकास्पद एक व्यक्ति पक्राउ
सप्तरी, ०७ भदौ । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका मृत फेला परेको घटनामा प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
स्थानीय इरफानकी तीन वर्षीया छोरी सानिया खातुन आइतबार बिहान करिब ९ बजेपछि घरबाट बेपत्ता भएकी थिइन् ।
परिवारका सदस्यले बालिका हराएको जानकारी दिएपछि स्थानीय र प्रहरीले खोजी सुरु गरेका थिए ।
खोजीका क्रममा घरदेखि करिब ६० मिटर पछाडि रहेको झाडीमा सानियाको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउने क्रममा एक जनाको गतिविधि शंकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिएको सप्तरीका डीआईजी ओम अधिकारीले जानकारी दिएका छन् ।
प्रहरीले पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
बालिकाको मृत्युको कारण तथा घटनाको वास्तविकता अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।


