जनकपुरधाम, ०६ भदौ । जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण, सम्मान तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष राजिव कुमार साह (चन्दन) सहित पदाधिकारी तथा सदस्यहरूलाई पद हस्तान्तरण गर्दै सम्मान गरिएको हो ।

निवर्तमान कार्यसमितिले नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको थियो ।

संघको साधारणसभाबाट गठित वरिष्ठ सदस्य, पूर्वपदाधिकारी तथा निर्वाचन समितिसहितको १५ सदस्यीय समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा संजय कुमार साह, उपाध्यक्षमा श्यामप्रसाद साह, महासचिवमा प्रमोद कुमार साह, सचिवमा दीपक कुमार साह र कोषाध्यक्षमा शत्रोहन साह चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा प्रविण साह, अलंकार कुमार ठाकुर, श्याम साह, ललन साह, संजय ठाकुर र अंकित साह सर्वसम्मत चयन भएका छन् ।

पद हस्तान्तरण तथा शपथ ग्रहण समारोहमा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल तथा संघका केन्द्रीय महासचिव नीरबहादुर विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले सुनचाँदी व्यवसायको संरक्षण, व्यवसायीका समस्या समाधान तथा संघलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ नेतृत्वले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।