जनकपुरधाम, ०६ भदौ । मोहम्मद डेको अवसरमा जनकपुरधाममा रक्तदान तथा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ ।

रबिउन नूर कमिटी जनकपुरधामको आयोजनामा ‘रक्तदान गरी गरौँ जीवनदान’ भन्ने नारासहित रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा स्थानीय युवा, विद्यार्थी तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले रक्तदान गर्दै मानवीय सेवामा योगदान दिएका थिए ।

मोहम्मद डेको अवसर पारेर वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपणसमेत गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए ।

कार्यक्रम संयोजक इजाज अन्सारीले धार्मिक तथा सांस्कृतिक पर्वलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले रक्तदान र वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बताए ।

उनले पर्वलाई सामाजिक सद्भाव, मानवीय सेवा र वातावरण संरक्षणसँग जोड्न यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिने बताए ।

अन्सारीका अनुसार मोहम्मद डेकै अवसरमा आगामी बुधबार जनकपुरधाममा शान्तिपूर्ण र्‍यालीसमेत निकालिनेछ ।

रबिउन नूर कमिटीका अध्यक्ष अजिज राइनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीयवासी, युवा तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।