रौतहट, ०६ भदौ । भारतबाट नेपालतर्फ अवैध रूपमा युरिया मल र खैनी ल्याउँदै गरेको आरोपमा दुई नेपाली नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ ।

भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको सीमावर्ती क्षेत्रमा एसएसबीको ७१औँ वाहिनीको टोलीले गरेको कारबाहीका क्रममा ८५५ किलो युरिया मल, ५० किलो खैनी र चारवटा साइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगर क्षेत्रका १८ वर्षीय आदित्य नारायण मुखिया र १९ वर्षीय अमिरखा मुखिया रहेका छन् ।

उनीहरूलाई सीमा स्तम्भ नम्बर ३६० बाट करिब २०० मिटर भारततर्फ नियन्त्रणमा लिइएको जनाइएको छ ।

यस्तै, सोही सीमाक्षेत्रको बडहरवा बोर्डरमा एसएसबीले गरेको अर्को कारबाहीमा २४ बोरा युरिया मल, एउटा मोटरसाइकल र चारवटा साइकल बरामद गरेको छ ।

सुरक्षाकर्मीलाई देखेपछि तस्करहरू सामान छाडेर भाग्न खोजेका थिए । उनीहरूको पिछा गर्ने क्रममा भारतीय नागरिक गोपाल राय पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्तिहरू तथा बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि सीमा शुल्क कार्यालय मोतिहारीमा बुझाइएको एसएसबीले जनाएको छ ।

सीमावर्ती क्षेत्रमा मललगायत विभिन्न सामग्रीको अवैध ओसारपसार बढेपछि भारतीय सुरक्षाकर्मीले निगरानी र चेकजाँचलाई थप कडाइ गरेको जनाइएको छ ।