घरको ताल्चा तोडेर चोरी गर्ने क्रममा युवक पक्राउ

रौतहट, ०६ भदौ । रौतहटको राजदेवी नगरपालिका–७ मुडवलवामा घरको ताल्चा तोडेर चोरी गरिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय मनोज राउत भेडिहर रहेका छन् ।
उनलाई शुक्रबार राति स्थानीय प्रहरी सहायक हवल्दार मनोज यादवको घरमा चोरी गर्दै गरेको अवस्थामा स्थानीय र घरधनीका आफन्तले नियन्त्रणमा लिएका हुन् ।
प्रहरीका अनुसार घरमा कोही नभएको मौका छोपेर राउतले ढोकाको ताल्चा तोडी घरभित्र प्रवेश गरी सामान चोरी गरेका थिए । चोरीका सामान लिएर भाग्न खोज्दा आफन्त तथा स्थानीयले उनलाई घेरा हालेर नियन्त्रणमा लिएका थिए ।
स्थानीयले नियन्त्रणमा लिएपछि राउतलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट पुगेको प्रहरी टोलीको जिम्मा लगाइएको छ । प्रहरी सहायक हवल्दार यादव हाल सर्लाहीको मलंगवामा कार्यरत रहेको जनाइएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका राउतमाथि यसअघि पनि चोरीका घटनामा संलग्न रहेको आरोप लाग्दै आएको थियो । गत साउन ६ गते स्थानीय अभिमन्यु यादवको घरमा चोरी गरेको आरोपमा समेत उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले घटनाको पुष्टि गर्दै राउत प्रहरी नियन्त्रणमा रहेको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

