सिरहा, ०६ भदौ । सिरहामा करिब ४ किलो शङ्कास्पद काँचो मासुसहित दुई युवक पक्राउ परेका छन् ।

औरही गाउँपालिका–५ स्थित गागन खोलामा चेकजाँचका क्रममा सशस्त्र प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा औरही गाउँपालिका–५ मुस्लिम टोलका २५ वर्षीय मोहतर अलि र २९ वर्षीय मोहमद अफरोज खान रहेका छन् ।

उनीहरू मधेश प्रदेश ०१–००४ प ९५०६ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला प्रहरीले शङ्कास्पद मासुसहित पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार बरामद मासु हेर्दा गाईको मासु जस्तो देखिएको छ । प्रारम्भिक अनुसन्धानमा उक्त मासु भारतबाट ल्याइएको हुनसक्ने आशंका गरिएको छ ।

यद्यपि, बरामद मासु कुन जनावरको हो भन्ने विषयमा परीक्षण तथा थप अनुसन्धानपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेश पालले जानकारी दिएका छन् ।