महोत्तरी, ०६ भदौ । महोत्तरीको बर्दिवासस्थित यातायात व्यवस्था कार्यालयले सेवाग्राहीको सहजताका लागि स्थानीय तहमै पुगेर सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्न थालेको छ ।

लाइसेन्स लिनकै लागि बर्दिवाससम्म पुग्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले कार्यालयमा छापिएर लामो समयदेखि थन्किएका लाइसेन्स सम्बन्धित पालिकामार्फत वितरण गर्न थालिएको हो ।

कार्यालय प्रमुख राकेश यादवका अनुसार सेवाग्राहीलाई आफ्नै गाउँठाउँबाट लाइसेन्स उपलब्ध गराउने उद्देश्यले पालिकासँग समन्वय गरी वितरणको व्यवस्था मिलाइएको हो ।

कार्यालयमा छापिएर तयार अवस्थामा रहेका लाइसेन्सको स्टक सम्बन्धित पालिकासम्म पुर्‍याइएको र पालिकाले वडा कार्यालयमार्फत सेवाग्राहीलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउनेछन् ।

यादवले महोत्तरीमा वितरणको काम सम्पन्न भएपछि धनुषा, सर्लाही र सिन्धुली जिल्लामा समेत पालिकामार्फत लाइसेन्स वितरण गर्ने योजना रहेको जानकारी दिए ।

कार्यालयका अनुसार पिपरा गाउँपालिकाबाहेक महोत्तरीका सबै स्थानीय तहमा लाइसेन्स वितरणको काम सम्पन्न भइसकेको छ ।

यसबाट लामो समयदेखि कार्यालयमै थन्किएका लाइसेन्स सम्बन्धित सेवाग्राहीको हातसम्म पुग्ने विश्वास गरिएको छ ।

जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले पालिकामै पुगेर लाइसेन्स वितरण गर्ने व्यवस्थाले स्थानीय सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुगेको बताए ।

लाइसेन्स लिनकै लागि बर्दिवाससम्म पुग्नुपर्ने अवस्थाको अन्त्य हुँदा सेवाग्राहीको समय र यातायात खर्च दुवै बचत हुने उनको भनाइ छ ।

उनले यातायातसम्बन्धी अन्य सेवासमेत सम्भव भएसम्म स्थानीय तहमै उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिनुपर्नेमा जोड दिए ।

यातायात व्यवस्था कार्यालयले पहिलो चरणमा महोत्तरीमा पालिकामार्फत लाइसेन्स वितरण सुरु गरेको हो ।

महोत्तरीपछि धनुषा, सर्लाही र सिन्धुलीमा समेत यही प्रक्रियाबाट लाइसेन्स वितरण गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ ।

यसले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट घटाउनुका साथै लामो समयदेखि वितरण हुन बाँकी रहेका लाइसेन्स व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।