महोत्तरी, ०६ भदौ । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा सुरक्षा तथा अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने विषयमा महोत्तरीको सदरमुकाम जलेश्वरमा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

शनिबार सम्पन्न बैठकमा नेपालको तर्फबाट महोत्तरी, सर्लाही र रौतहटका प्रमुख जिल्ला अधिकारी तथा भारतको सीतामढी जिल्लाका सुरक्षा अधिकारी सहभागी भएका थिए ।

बैठकमा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण तथा रोकथाम, लागूऔषध नियन्त्रण, सीमा स्तम्भको सुरक्षा तथा मर्मतसम्भार, अवैध हातहतियारको ओसारपसार नियन्त्रण, मानव तस्करीलगायत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिका विषयमा विस्तृत छलफल भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

बैठकले नेपाल र भारतका सुरक्षाकर्मीले गर्दै आएको संयुक्त गस्तीलाई थप विस्तार गर्ने तथा सीमा क्षेत्रमा हुने आपराधिक घटनाबारे दुवै पक्षबीच तत्काल सूचना आदानप्रदान गर्ने सहमति गरेको छ ।

सीमा क्षेत्रमा देखिने सुरक्षा चुनौतीलाई समन्वयमार्फत समाधान गर्दै सीमा अपराध नियन्त्रणमा थप प्रभावकारी कदम चाल्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।

भारतको सीतामढीका डिस्ट्रिक्ट मजिस्ट्रेट तनय सुलतानियाले सीमामा दुवै देशका सुरक्षाकर्मीले सहकार्य गर्दै देखाएको सक्रियताको प्रशंसा गरे ।

उनले सीमा स्तम्भको संरक्षण, रेखदेख तथा आवश्यक मर्मतसम्भारसँगै सीमा क्षेत्रमा हुने अपराध, मानव तस्करीलगायत गतिविधि नियन्त्रणका लागि सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

बैठकमा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि नियमित समन्वय, संयुक्त गस्ती र सूचनाको आदानप्रदानलाई निरन्तरता दिने विषयमा समेत सहमति भएको छ ।

समन्वयात्मक बैठकले आगामी दिनमा नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन तथा सीमापार अपराध नियन्त्रणमा दुवै देशका सुरक्षा निकायबीच सहकार्य बढाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर, सीतामढीका डिस्ट्रिक्ट मजिस्ट्रेट तनय सुलतानिया र सीतामढीका सुपरीटेण्डेण्ट अफ पुलिस अमित रञ्जनसहित दुवै देशका सुरक्षा अधिकारीको सहभागिता थियो ।