वर्षौंदेखिको गुठी अतिक्रमण हटाउन जनकपुरधाममा चल्यो डोजर (तस्बिरहरु)
जनकपुरधाम, ०६ भदौ । जनकपुरधाममा वर्षौंदेखि अतिक्रमणमा परेको गुठीको जग्गा खाली गराउने अभियान सुरु भएको छ । गुठी संस्थान जनकपुरधामले शनिबारदेखि अतिक्रमित पोखरीका डिल खाली गराउन डोजर परिचालन गरेको हो ।
अभियानअन्तर्गत जनकपुरधाम उपमहानगरपालिकास्थित गिरनारी कुट्टी नजिक रहेको गोरधोइ पोखरीको अतिक्रमित डिल खाली गराउन थालिएको छ । गुठी संस्थानले यसअघि नै अतिक्रमणमा परेका जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो । साउन १ गते सूचना जारी गरेपछि शुक्रबार जनकपुरधाम नगर क्षेत्रमा माइकिङ गरी अतिक्रमित जग्गा खाली गर्न अन्तिम जानकारीसमेत गराइएको थियो ।
सूचना दिएर पनि अतिक्रमित संरचना तथा जग्गा खाली नभएपछि शनिबारदेखि डोजर प्रयोग गरी अतिक्रमण हटाउन थालिएको गुठी संस्थानले जनाएको छ ।
गुठी संस्थानका प्रवक्ता जनक पोखरेलका अनुसार पहिलो चरणमा जनकपुरधामका अतिक्रमणमा परेका पोखरीका डिल खाली गराउने योजना बनाइएको छ ।
संस्थानले जनकपुरधाम क्षेत्रका ४९ वटा पोखरीलाई अतिक्रमणमुक्त बनाउने लक्ष्य लिएको छ । त्यसमध्ये पहिलो चरणमा ७ वटा पोखरीको डिल खाली गराउने तयारी गरिएको पोखरेलले जानकारी दिए ।
उता, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहका अनुसार ३० वटा पोखरीको नापीसमेत सम्पन्न भइसकेको छ । बाँकी पोखरीको नापी प्रक्रिया पनि चाँडै पूरा गरिने उनले बताए ।
नगरप्रमुख साहले पोखरीका डिल अतिक्रमणमुक्त गराएपछि राजगुठीअन्तर्गत अतिक्रमणमा परेका अन्य जग्गा पनि क्रमशः खाली गराउने तयारी रहेको जानकारी दिए ।
जनकपुरधामका ऐतिहासिक पोखरी तथा गुठीका जग्गा लामो समयदेखि विभिन्न किसिमले अतिक्रमण हुँदै आएका छन् । कतिपय स्थानमा पोखरीका डिल मिचेर घर, टहरा तथा अन्य संरचना निर्माण गरिएका छन् भने गुठीको स्वामित्वमा रहेका अन्य जग्गासमेत अतिक्रमणमा परेको बताइन्छ ।
गुठीको अतिक्रमित जग्गा संरक्षण तथा फिर्ता गराउने उद्देश्यले नेपाल सरकारले केही महिनाअघि कार्यदलसमेत गठन गरेको थियो । सोही कार्यदलले तयार पारेको योजनाअनुसार जनकपुरधाममा अतिक्रमण हटाउने अभियान सुरु गरिएको गुठी संस्थानले जनाएको छ ।
पोखरी तथा गुठीका जग्गा अतिक्रमणमुक्त गराउने अभियानलाई निरन्तरता दिँदै आगामी चरणमा अन्य स्थानमा समेत डोजर परिचालन गरिने तयारी छ ।











