दुई महिना ढिलो गरुडाको नगरसभा सम्पन्न, ८५ करोड ३७ लाखको बजेट प्रस्तुत

रौतहट, ०५ भदौ । निर्धारित समयभन्दा करिब दुई महिना ढिलो गरी रौतहटको गरुडा नगरपालिकाको १५औँ नगरसभा अधिवेशन तथा १०औँ बजेट अधिवेशन सम्पन्न भएको छ ।
जनप्रतिनिधिबीचको आन्तरिक विवादका कारण लामो समयदेखि रोकिएको नगरसभा सम्पन्न भएसँगै चालु आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको हो ।
नगरपालिका कार्यालयको सभाहलमा नगरप्रमुख कन्थमनि प्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख पुनम कुमारी चौधरीले आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिन् ।
नगरपालिकाले चालु आर्थिक वर्षका लागि कुल ८५ करोड ३७ लाख ८५ हजार ९ सय ९९ रुपैयाँ ६० पैसा बराबरको बजेट ल्याएको छ । प्रस्तुत बजेटमध्ये ३२ करोड १९ लाख ५ हजार रुपैयाँ पुँजीगत खर्च र ५३ करोड १८ लाख ८१ हजार रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरिएको छ ।
नगरपालिकाले संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त, विशेष तथा समपूरक अनुदानलगायत विभिन्न शीर्षकबाट आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँड र स्थानीय राजस्व, आन्तरिक आय तथा सञ्चित कोषमा रहेको मौज्दातलाई समेत बजेटको आयतर्फ समावेश गरिएको छ ।
नगरपालिकाका अनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबापत १३ करोड ४५ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ११ करोड ९२ लाख ८२ हजार रुपैयाँ, सशर्त अनुदान चालुतर्फ २४ करोड ८६ लाख रुपैयाँ तथा पुँजीगततर्फ १ करोड ९१ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । विशेष अनुदान चालुतर्फ २ करोड १० लाख र समपूरक अनुदान पुँजीगततर्फ १ करोड ३९ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ९२ लाख ५९ हजार रुपैयाँ, सशर्त अनुदान पुँजीगततर्फ ६० लाख, विशेष अनुदान चालुतर्फ २० लाख तथा राजस्व बाँडफाँडबाट ८८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
नगरपालिकाले स्थानीय राजस्व बाँडफाँडबाट २ करोड १० लाख रुपैयाँ र आन्तरिक आयबाट १६ करोड १९ लाख ७० हजार ९ सय २ रुपैयाँ संकलन हुने अनुमान गरेको छ । सञ्चित कोषको मौज्दात तथा अन्य स्रोतबाट प्राप्त हुने रकमलाई समेत समेटेर बजेटको कुल आकार निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय तहले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट नगरसभामा पेस गर्नुपर्ने र असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ । तर, गरुडा नगरपालिकामा जनप्रतिनिधिबीच लामो समयदेखि जारी आन्तरिक विवादका कारण निर्धारित समयमा नगरसभा बस्न नसक्दा बजेटसमेत समयमै आउन सकेको थिएन ।
नगरप्रमुख जयसवालले नगरवासीको आवश्यकता र मागलाई प्राथमिकतामा राखेर विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक विकास तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने गरी नीति तथा कार्यक्रम ल्याइएको बताए ।
नगरसभा ढिलो हुँदा नगरपालिकाका नियमित विकास निर्माण तथा सेवा प्रवाहका कामसमेत प्रभावित हुँदै आएका थिए । लामो समयपछि नगरसभा सम्पन्न भएर बजेट सार्वजनिक भएसँगै रोकिएका विकास आयोजना तथा नियमित प्रशासनिक कामले गति लिने विश्वास गरिएको छ ।
नगरसभामा वडा नम्बर १ देखि ९ सम्मका वडाध्यक्ष तथा नगरसभा सदस्य, प्रमुख प्रशासकीय अधिकृत उपसचिव नाथु साह, इन्जिनियर नागेन्द्र राय यादव, विभिन्न शाखाका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।
नगरपालिकाले पारित नीति, कार्यक्रम तथा बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नगरवासीको आवश्यकता र अपेक्षा सम्बोधन गर्ने तथा विकास निर्माण र सार्वजनिक सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने लक्ष्य लिएको जनाएको छ ।

