अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

जनकपुरधाम, ०५ भदौ । मनसुनको समय भए पनि पर्याप्त वर्षा नहुँदा मधेश प्रदेशमा गर्मी चर्किएको छ । पछिल्ला दिनमा तापक्रम निरन्तर बढेपछि जनकपुरधामसहित मधेशका विभिन्न जिल्लाको जनजीवन प्रभावित बन्न थालेको छ ।
अत्यधिक गर्मीका कारण दिउँसोको समयमा सडक तथा बजार क्षेत्रमा मानिसको आवागमन घटेको छ । अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाट बाहिर निस्कन कम गरेका छन् ।
यसले व्यापारिक गतिविधिमा समेत असर पारेको व्यवसायीहरूले बताएका छन् । विगतमा दिउँसोसम्म भीडभाड देखिने बजार अहिले तुलनात्मक रूपमा सुनसान देखिन थालेका छन् ।
गर्मीको असर जनकपुरधामका धार्मिक तथा पर्यटकीय स्थलमा समेत परेको छ । जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डपलगायतका क्षेत्रमा दर्शनार्थी तथा पर्यटकको चहलपहल घटेको स्थानीय व्यवसायीहरूको भनाइ छ । विशेषगरी दिउँसोको चर्को घाममा पर्यटक तथा दर्शनार्थीको संख्या निकै न्यून हुने गरेको उनीहरू बताउँछन् ।

अत्यधिक गर्मीबाट बालबालिका, वृद्धवृद्धा तथा खुला स्थानमा काम गर्ने श्रमिक बढी प्रभावित भएका छन् । लामो समय घाममा काम गर्दा शरीरमा पानी र लवणको कमी हुने तथा टाउको दुख्ने, चक्कर लाग्ने, कमजोरी महसुस हुने र अत्यधिक पसिना आउनेजस्ता समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन् ।
गर्मीबाट जोगिन पर्याप्त पानी तथा झोल पदार्थ सेवन गर्न, सकेसम्म दिउँसोको चर्को घाममा बाहिर ननिस्कन र बाहिर काम गर्नुपर्ने अवस्थामा आवश्यक सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।
मनसुन सक्रिय रहे पनि मधेशका धेरै भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसक्दा गर्मी थप बढेको हो । वर्षा नहुँदै जाने हो भने आगामी दिनमा गर्मीको प्रभाव अझ बढ्न सक्ने भन्दै स्थानीयवासी चिन्तित भएका छन् ।


