जनकपुरधामका अतिक्रमित गुठी जग्गामा शनिबारदेखि डोजर चलाइने

जनकपुरधाम, ०५ भदौ । जनकपुरधाममा अतिक्रमणमा परेको गुठी जग्गा खाली गराउने अभियान सुरु हुने भएको छ ।
गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिले शनिबारदेखि अतिक्रमित क्षेत्रमा डोजर चलाउने तयारी गरेको हो ।
समितिका सदस्य सचिव जनक पोखरेलका अनुसार पहिलो चरणमा अतिक्रमणमा परेका पोखरीका डिल खाली गराइनेछ ।
पहिलो चरणमा पहिचान गरिएका ५० वटा पोखरीलाई अतिक्रमणमुक्त बनाउने योजना रहेको उनले बताए ।
अतिक्रमण हटाउने अभियानका लागि यसअघि नै सार्वजनिक सूचना जारी गरिएको र शुक्रबार सम्बन्धित क्षेत्रमा माइकिङसमेत गरिएको समितिले जनाएको छ ।
समितिले अतिक्रमित क्षेत्रलाई चरणबद्ध रूपमा खाली गराउने कार्ययोजना बनाएको छ । जसअनुसार पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र त्यसपछि अन्य गुठी जग्गामा भएको अतिक्रमण हटाइनेछ ।
गुठी जग्गा पहिचान तथा अतिक्रमण हटाउने क्रममा २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनलाई आधार बनाइएको समितिले जनाएको छ ।
कार्ययोजनाअनुसार शनिबारदेखि जनकपुरधामको गोरधोइ पोखरीको डिलमा रहेको अतिक्रमित जग्गाबाट डोजर चलाउन सुरु गरिनेछ ।
समितिले अभियानका क्रममा सार्वजनिक तथा धार्मिक प्रयोजनमा रहेका गुठी सम्पत्तिको संरक्षणलाई प्राथमिकता दिने जनाएको छ ।

