जनकपुरधाम, ०५ भदौ । जनकपुरधाम उपमहानगरपालिका–४ स्वर्गद्वारीस्थित प्रसिद्ध भुतनाथ मन्दिरमा चोरीको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अर्का व्यक्ति भने फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहीबार राति करिब १ः३० बजे मन्दिरभित्र प्रवेश गरी बहुमूल्य धातु तथा मूर्ति चोरी गरी भाग्ने क्रममा भारत बिहारको मोतिहारी जिल्ला, इनरवा फुलबार थाना, लखौरा–७ का २६ वर्षीय मोतिफर रहमान मियाँ पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार चोरहरूले मन्दिरको छिटकनी तोडेर भित्र प्रवेश गरेका थिए ।

उनीहरूले महादेवको मूर्तिमा रहेको जलहरी र ठूलो मुकुटसँगै आसपासका अन्य मूर्तिमा रहेका चारवटा मुकुट तथा नागदेवताको मूर्ति चोरी गरेका थिए ।

चोरी गरिएका सामग्री कम्बलमा बाँधेर मन्दिरबाट बाहिरिने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । करिब १० देखि १५ मिनेटभित्र प्रहरी पुगेपछि एक जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका मियाँलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

घटनामा संलग्न भई पर्खाल नाघेर फरार भएका अर्का व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जनकपुरधाममा पछिल्लो समय घर, पसल तथा विभिन्न व्यवसायिक प्रतिष्ठान चोरीको निशानामा पर्दै आएका बेला धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेका मन्दिरमा समेत चोरीको प्रयास हुन थालेपछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।