सुनचाँदी र नगदसहित लाखौँको धनमाल चोरी
-श्याम कुमार ठाकुर
सिरहा, ०५ भदौ । सिरहाको मिर्चैया नगरपालिका–७ एकटा टोलमा बिहीबार राति एक घरमा चोरी भएको छ ।
चोरले घरबाट करिब १२ तोला सुन, ३० तोला चाँदी र १ लाख ५० हजार रुपैयाँ नगद चोरी गरेको पीडित परिवारले जनाएको छ ।
पीडित राजीव रञ्जन यादवका अनुसार रातिको समयमा घरमा प्रवेश गरेका चोरले घरमा रहेका सुनचाँदीका गरगहना तथा नगद रकम लिएर फरार भएका हुन् ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का उठाउनुका साथै चोरीमा संलग्न व्यक्तिको खोजी तथा घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ ।
मिर्चैयामा पछिल्लो समय चोरीका घटना दोहोरिन थालेपछि स्थानीयवासीमा त्रास बढेको छ ।
स्थानीयका अनुसार नगरपालिकाका विभिन्न वडामा पछिल्लो समय एक दर्जनभन्दा बढी घरमा चोरीका घटना भएका छन् ।
केही घटनामा संलग्न व्यक्ति पक्राउ परे पनि चोरीका घटना पूर्णरूपमा नियन्त्रणमा आउन नसकेको स्थानीयको गुनासो छ ।
रातिको समयमा शंकास्पद व्यक्तिको आवतजावत बढेको भन्दै स्थानीयले प्रहरी गस्ती प्रभावकारी बनाउन, संवेदनशील क्षेत्रमा निगरानी बढाउन र श्रृंखलाबद्ध चोरीमा संलग्न समूहको पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।
इलाका प्रहरी कार्यालय मिर्चैयाले पछिल्लो चोरी घटनाबारे अनुसन्धान भइरहेको र चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको जनाएको छ ।






