जनकपुरधाम, ०४ भदौ । भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालको वर्तमान अवस्थामा नेपाल–भारत सम्बन्ध विषयक एकदिने विचार गोष्ठी जनकपुरधाममा सम्पन्न भएको छ ।

नेपाल–भारतबीचको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा जनस्तरमा रहेको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित गोष्ठीमा दुई देशबीचको वर्तमान सम्बन्ध, सम्भावना, चुनौती तथा आगामी दिनमा सहकार्य विस्तारका विषयमा छलफल गरिएको हो ।

गोष्ठीलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको सम्बन्धलाई समानता, पारस्परिक सम्मान र आपसी हितका आधारमा अझ बलियो बनाउनुपर्ने बताए ।

उनले नेपाल–भारत सम्बन्ध सरकारबीचको कूटनीतिक सम्बन्धमा मात्र सीमित नरहेको उल्लेख गर्दै यो जनस्तरसम्म फैलिएको बहुआयामिक सम्बन्ध भएकाले राजनीतिक उतारचढावबाट प्रभावित हुन नदिनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री यादवले मधेश प्रदेशले बाढी, कृषि उत्पादनमा भइरहेको ह्रास र खानेपानीको बढ्दो अभावजस्ता समस्या सामना गरिरहेको बताए ।

यस्ता समस्या समाधान गर्न प्रदेश सरकारको आन्तरिक स्रोत पर्याप्त नभएको उल्लेख गर्दै उनले संघीय सरकारले जनसंख्याको अनुपातअनुसार आवश्यक अनुदान उपलब्ध नगराएको गुनासोसमेत गरे ।

उनले सीमावर्ती क्षेत्रका साझा समस्या समाधान तथा विकासका लागि नेपाल र भारतबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।

सीमावर्ती क्षेत्रमा देखिने समस्या दुई देशका नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएकाले त्यसको समाधानका लागि सरकारसँगै जनस्तरको सहकार्य पनि आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले नेपाल–भारत सम्बन्धलाई अझ व्यापक र परिणाममुखी बनाउन सहकार्यका नयाँ क्षेत्र पहिचान गर्नुपर्ने बताए ।

उनले व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन तथा प्रविधिजस्ता क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार भइरहेको उल्लेख गर्दै आगामी दिनमा पनि पारस्परिक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

गोष्ठीमा नेपाल–भारतबीचको खुला सीमा, व्यापार तथा आर्थिक सम्बन्ध, सीमावर्ती क्षेत्रका नागरिकका समस्या, ऊर्जा सहकार्य, धार्मिक तथा सांस्कृतिक सम्बन्ध र विकास साझेदारीलगायतका विषयमा सहभागीहरूले धारणा राखेका थिए ।

वक्ताहरूले नेपाल र भारतबीचको सम्बन्धलाई समयअनुकूल बनाउँदै आर्थिक विकास, पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धन तथा सीमावर्ती जनताको हितमा केन्द्रित गर्न सके दुई देशबीचको सहकार्य अझ परिणाममुखी बन्न सक्ने धारणा व्यक्त गरेका थिए ।

गोष्ठीले नेपाल–भारतबीचको परम्परागत सम्बन्धलाई नयाँ सम्भावना र प्राथमिकतासँग जोड्दै आगामी दिनमा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।