मधेशका आठै पत्रकार महासंघ शाखालाई कार्यालय सामग्री

जनकपुरधाम, ०४ भदौ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका आठवटै जिल्लामा रहेका नेपाल पत्रकार महासंघका शाखालाई कार्यालय प्रयोजनका सामग्री उपलब्ध गराएको छ ।
मन्त्रालयले आयोजना गरेको कार्यक्रममा महासंघका आठै जिल्ला शाखाका अध्यक्ष, सचिव तथा कोषाध्यक्षलाई सामग्री हस्तान्तरण गरिएको हो ।
प्रत्येक शाखालाई एक थान कम्प्युटर सेट, प्रिन्टर र प्रोजेक्टर प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।
सामग्री हस्तान्तरण गर्दै गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै राज्यका गतिविधि र नागरिकका समस्या सम्बन्धित निकायसम्म पुर्याउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।
मन्त्री महतोले पछिल्लो समय फैलिँदै गएको भ्रमपूर्ण सूचना र असत्य समाचार नियन्त्रणका लागि तथ्यमा आधारित, जिम्मेवार र सन्तुलित पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उनले पत्रकारिता क्षेत्रको स्वतन्त्रता, व्यावसायिकता तथा संस्थागत विकासका लागि देखिएका समस्या समाधान गर्न प्रदेश सरकार, मिडिया काउन्सिल र नेपाल पत्रकार महासंघबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रमको संयोजन मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झाले गरेकी थिइन् ।
कार्यक्रममा महासंघका आठवटै जिल्ला शाखाका पदाधिकारी तथा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूको सहभागिता थियो ।

