जनकपुरधाम, ०४ भदौ । धनुषा प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ८ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रहरीले खोजतलास गर्ने क्रममा चोरी, लागुऔषध र सवारी ज्यानसम्बन्धी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये तीन जना चोरी मुद्दाका प्रतिवादी छन् । उनीहरूलाई क्रमशः ४ दिन र १ महिनाको कैद तथा जनही १ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, लागुऔषध मुद्दामा दोषी ठहर भएका तीन जना पक्राउ परेका छन् । उनीहरूमध्ये एक जनालाई २ दिन कैद र २ हजार रुपैयाँ जरिवाना, अर्का एक जनालाई १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तथा अर्का एक जनालाई १ महिनाको कैद सजाय तोकिएको थियो ।

यसैगरी, सवारी ज्यान मुद्दामा दोषी ठहर भएका दुई जना पनि पक्राउ परेका छन् । उनीहरूलाई क्रमशः २४ दिन र २६ दिन कैद तथा जनही २ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको छ ।