नक्कली बैंक आईडी बनाएर गोप्य विवरण माग्दै साइबर ठगी, धनुषा प्रहरी सतर्क

जनकपुरधाम, ०४ भदौ । सामाजिक सञ्जालको दुरुपयोग गरी बैंकको नाम र लोगो प्रयोग गरेर सर्वसाधारणलाई झुक्याउँदै साइबर ठगी गर्ने प्रयास भइरहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले आमनागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।
प्रहरीका अनुसार पछिल्लो समय WhatsApp, Imo, Viber लगायतका सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिहरूले विभिन्न बैंकका खातावालालाई सम्पर्क गरी ‘KYC Update’ गर्नुपर्ने भन्दै झुक्याउने गरेका छन् ।
‘२४ घण्टाभित्र खाता बन्द हुन्छ’ जस्ता झुटा सूचना तथा विभिन्न प्रलोभन देखाएर सेवाग्राहीबाट गोप्य बैंकिङ विवरण लिने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।
ठगीमा संलग्न व्यक्तिहरूले सम्बन्धित बैंकको लोगो प्रयोग गरी नक्कली आईडी बनाउने र त्यसबाट नागरिकताको स्क्यान कपी, बैंक खाताको आईडी तथा पासवर्ड, OTP कोड लगायतका संवेदनशील विवरण माग्ने गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, कतिपय अवस्थामा बैंकको ATM कार्ड तथा चेकबुकसमेत कुरियरमार्फत पठाउन लगाउने गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यस्ता विवरण तथा सामग्री अपरिचित व्यक्तिलाई उपलब्ध गराउँदा खाताबाट रकम चोरी हुनुका साथै अन्य आर्थिक तथा कानुनी जोखिमसमेत निम्तिन सक्ने प्रहरीले चेतावनी दिएको छ ।
धनुषा प्रहरीले कुनै पनि अपरिचित व्यक्ति वा शंकास्पद सामाजिक सञ्जाल अकाउन्टलाई नागरिकता वा अन्य परिचय खुल्ने कागजातको प्रतिलिपि, बैंक खाताको विवरण, पासवर्ड तथा OTP कोड उपलब्ध नगराउन आग्रह गरेको छ ।
बैंकसँग सम्बन्धित कुनै पनि सूचना वा KYC अपडेट आवश्यक भएमा अपरिचित लिंक, सामाजिक सञ्जाल अकाउन्ट वा व्यक्तिको भर नपरी सम्बन्धित बैंकको आधिकारिक माध्यम वा शाखामा सम्पर्क गर्न प्रहरीले सुझाव दिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले प्रविधिको विकाससँगै साइबर अपराधका नयाँ नयाँ तरिका प्रयोग हुन थालेकाले नागरिकहरू थप सचेत हुनुपर्ने बताएका छन् ।
प्रहरीले यस्ता शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउनसमेत सर्वसाधारणमा अनुरोध गरेको छ ।


