रिक्त दरबन्दी पूर्तिका लागि जनकपुरधामले माग्यो कर्मचारी सरुवा आवेदन

जनकपुरधाम, ०४ भदौ । जनकपुरधाम उपमहानगरपालिकाले रिक्त पदमा अन्तरस्थानीय तह सरुवामार्फत कर्मचारी पदपूर्ति गर्ने प्रक्रिया अघि बढाएको छ ।
उपमहानगरपालिकाले मधेश प्रदेशअन्तर्गतका स्थानीय तहमा कार्यरत कर्मचारीलाई सरुवा सहमतिका लागि आवेदन दिन आह्वान गरेको हो ।
उपमहानगरपालिकाले बिहीबार सूचना जारी गर्दै स्वीकृत दरबन्दी तथा संगठन संरचनाअनुसार रिक्त रहेका प्रशासन सेवातर्फका पदमा सरुवा भई आउन इच्छुक कर्मचारीबाट निवेदन माग गरेको जनाएको छ ।
सूचनाअनुसार प्रशासन सेवाअन्तर्गत सामान्य प्रशासन समूहमा तह ५/६ को सहायक पाँचौँ वा अधिकृत छैठौँ तहको पद र तह ४ को सहायक चौथो पद रिक्त रहेको छ ।
मधेश प्रदेशको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१’ को दफा २५ को उपदफा (१) बमोजिम सरुवा प्रक्रिया अघि बढाइएको उपमहानगरपालिकाले जनाएको छ ।
सोअनुसार मधेश प्रदेशअन्तर्गतका स्थानीय तहमा कार्यरत आफ्नो सेवा, समूह र पद मिल्ने कर्मचारीले जनकपुरधाम उपमहानगरपालिकामा अन्तरस्थानीय तह सरुवाका लागि सहमति माग गर्दै निवेदन दिन सक्नेछन् ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरी घिमिरेद्वारा जारी सूचनामा इच्छुक कर्मचारीलाई तोकिएको प्रक्रियाअनुसार सरुवा सहमतिका लागि निवेदन पेश गर्न आग्रह गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले रिक्त दरबन्दी पूर्ति गरी उपमहानगरको प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरुवा प्रक्रियामार्फत कर्मचारी व्यवस्थापन गर्न लागेको हो ।


