अदालतबाट दोषी ठहरिएका १३ फरार प्रतिवादी पक्राउ

रौतहट, ०४ भदौ । रौतहट प्रहरीले विभिन्न अपराधिक मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट परिचालित टोलीले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत, गौरमा पेश गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार पक्राउ परेकाहरू विद्युतीय अपराध, लागूऔषध, बिगो, चोरी, कुटपिट, चेक अनादर, अभद्र व्यवहार तथा बहुविवाहलगायतका मुद्दामा अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् ।
प्रहरीका अनुसार पक्राउ परेका १३ जनाबाट अदालतको फैसलाअनुसार कुल ५ वर्ष ३ महिना २३ दिन कैद तथा १ लाख १८ हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको थियो ।
फैसलाअनुसार विद्युतीय अपराध मुद्दामा २ महिना ७ दिन कैद र १० हजार रुपैयाँ जरिवाना, लागूऔषध मुद्दामा १ वर्ष १० महिना ६ दिन कैद तथा ९० हजार रुपैयाँ जरिवाना र बिगोसम्बन्धी मुद्दामा २ वर्ष कैद सजाय तोकिएको थियो ।
त्यस्तै, चोरी मुद्दामा १ महिना ८ दिन कैद र १० हजार रुपैयाँ जरिवाना, अभद्र व्यवहार मुद्दामा २ महिना तथा बहुविवाह मुद्दामा १ वर्ष २ दिन कैद सजाय सुनाइएको प्रहरीले जनाएको छ ।
कुटपिट र चेक अनादरसम्बन्धी मुद्दामा भने अदालतको फैसलाअनुसार विभिन्न रकम जरिवाना असुल गर्न बाँकी थियो ।
प्रहरीले अदालतबाट फैसला भइसकेपछि पनि फरार रहेका प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयन गराउने अभियानलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने जनाएको छ ।

